साई स्वागत सहकारीमा रविको कनेक्सनः पत्नी निकिताको रजगजले बचतकर्ताको बिचल्ली (यस्तो छ तथ्य)

काठमाडौं, १२ कात्तिक। २०८१ सालको चैत तेस्रो हप्ता काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मर्यो । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालिन बहालवाल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत त्यो कुराको भेउ पाएनन् ।
संयोग पनि कस्तो भएको थियो भने गृहमन्त्री लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा भेट गरिरहेका बेला उक्त सहकारीमा महानगरपालिकाले छापा हानेको थियो । उक्त सहकारीका विषयमा लामो समयदेखि बचतकर्ताले गुनासो गर्दै आएका थिए भने महानगरपालिकामा उजुरी पनि परेका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागले उक्त सहकारीलाई निगरानीमा बढाएको थियो ।
केही तथ्यहरु फेला पारेपछि विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले उक्त सहकारीमा छापा मारेको थियो । त्यतिबेला उक्त सहकारीमा छापा मारेसँगै नयाँ तथ्यहरु पनि खुलेका थिए । तत्कालिन गृहमन्त्री लामिछाने पत्नी निकिता पौडेल सो सहकारीमा उपाध्यक्ष रहेको चर्चा एकैछिनमा सनसनी भयो । पटक–पटक सहकारी काण्डमा लामिछाने मुछिदैँ आएका थिए । पत्नी निकिता पनि त्यस्तै काण्डमा मुछिएपछि थप चर्चा हुने नै भयो ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर–१० मा रहेको उक्त सहकारीमा छापा हानी महानगरपालिकाले त्यहाँबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण सबै ल्याएको थियो । त्यतिबेला नै महानगरपालिकाले धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरणसँगै सहकारीको सफ्टवेयर सिस्टम पनि ल्याएको थियो ।
ती सबै तथ्यहरु केलाउँदै जाँदा लामिछाने पत्नी पौडेल जमानी बसेर लाखौँ ऋण दिइएको, पौडेलसहितको संलग्नतामा ७० लाख रुपैयाँ सहकारीबाट निकालेको जस्ता बचतकर्ताको आरोपलाई पनि पुष्टि गर्ने आधारहरु भेटिएका थिए ।
त्यतिबेला लामिछाने शक्तिशाली गृहमन्त्री रहेका कारण धेरै कुराहरु गुपचुप नै रहेका थिए । काठमाडौं महानगरपालिकाको अनुगमन रिपोर्टमा तयार भएका केही तथ्यहरु भर्खरै बाहिरिएपछि त्यतिबेलाका झुटका पन्तुराहरु पनि विस्तारै खुल्दै जान थालेपछि पोखरामा प्रहरी हिरासतमा रहेका लामिछाने थप संकटमा पर्ने देखिएको छ ।
भरतमणि जंगम अध्यक्ष रहेको सो सहकारीको उपाध्यक्षमा भने निकिता रहेकी थिइन् । कुनै बेला टेलिभिजनमा ‘कालो सुर्य’ कार्यक्रम चलाउने जंगमसँग त्यसैबेला रवि लामिछानेसँग हिमचिम बढेको उहाँहरु निकटका व्यक्तिहरुको भनाई छ ।
जंगम स्वयंले पनि त्यो कुराको पुष्टि गर्दै केही समय अघि नै महानगरको टोलीलाई २०७५ मा लामिछानेको एउटा पारिवारिक झमेला मिलाउन रविलाई रकम आवश्यक परेपछि बिनाधितो ५० लाख कर्जा दिलाइदिएको उल्लेख गर्नुभएको थियो ।
पारिवारिक झमेला भनेको लामिछानेकी अमेरिकामा रहेकी पत्नीसँगको ‘छोडपत्र’ गर्दा भन्ने बुझ्न त्यति कठिन छैन । त्यतिबेलादेखि नै रविसँग जोडिएका जंगम र उपाध्यक्ष निकिताबाट उक्त सहकारीको रकम पटक–पटक दुरुपयोग भएपछि सहकारी थप संकटमा परेको थियो ।
सहकारी संकटमा परेपछि ठूलो रकम अपचलन गर्ने जंगम र निकिताहरुकै योजनामा उक्त सहकारीमा योजनाबद्ध रूपमा निमकुमारी छन्त्याललाई अध्यक्ष बनाएर उम्किने प्रयास भएको थियो । असाध्यै सोझी र एकल महिला छन्त्याललाई मासिक १५ हजार पारिश्रमिक दिने सर्तसहित अध्यक्ष बनाएपछि निकिता, जंगमहरु योजनाबद्ध रुपमै अलग भएका थिए ।
लामिछाने गृहमन्त्री रहेकैबेला उनकी पत्नी निकिता पौडेलसमेत समस्याग्रस्त सहकारीमा मुछिएको र रकम हिनामिनामा उनको पनि भूमिका रहेको चर्चा चलेपछि निकिताले त्यतिबेला उपाध्यक्षबाट उहिल्यै राजीना दिएको चिल्कटो देखाएर उम्किने प्रयास गरेकी थिइनन् ।
लामिछाने पत्नी निकिताले त्यतिबेला नै उक्त सहकारी संस्थामा आफ्नो कुनै कारोबार वा लेनदेनसमेत बाँकी नरहेको दलित पेश गर्ने प्रयास गरेकी थिइन । सहकारीको नवौँ वार्षिक साधारण सभाबाट २०७५-९-२८ मा उपाध्यक्ष बनेकी निकिताले आ.व. २०७५-०७६ को मिति २०७६-९-२६ को साधारण सभामा आफ्नो उपस्थिति नरहेको, आ.व. २०७७-६-८ मा उपाध्यक्ष पदबाट राजीनामा दिई मिति २०७७-६-९ मा स्वीकृत भै त्यसपछि सहकारीको कुनै पनि जिम्मेवारी एवं भूमिकामा नरहेको समेत जिकिर गरेकी थिइन् ।
तर, महानगरपालिकाले तयार पारेको रिपोर्टको केही अंश बाहिरिएपछि निकिताका ती सबै दलिलहरु फिका बनेका छन् । महानगरपालिकाको एक अनुगमन रिपोर्ट अनुसार साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाले उनको राजीनामा स्वीकृत नगरेको पाइएको छ ।
केही अघि नै गरेको अनुगमनका केही अंश अहिले बाहिरिएका छन् । काठमाडौं महानगरपालिको सहकारी विभागले गरेको अनुगमनको अंशमा निकिताको राजीनामा स्वीकृत नभएको पाइएको छ । सभापति लामिछानेले समेत त्यतिबेला आफ्नी पत्नीको बचाउमा निकिताले राजीनामा दिइसकेको हुँकार गरेका थिए । वाकपटुताका धनी लामिछानेले पत्नी निकिताले राजीनामा दिएको र साधारणसभाले समेत स्वीकृत गरेको भनेर त्यतिबेला दिउँसै रात पार्ने प्रयास गरेका थिए ।
गृहमन्त्री लामिछाने शक्तिमा रहेका बेला निकिताले पनि सहकारीको यवस्थापकीय समूहलाई प्रभावमा पारेर मिति २०७८-६-८ गते राजीनामा दिएको भनि लिखित जानकारी गराएको दलिल पेस गराउन सफल भएकी थिइन । तर, अहिले बाहिरिएको रिपोर्टको अंशमा सो राजीनामा सम्बन्धमा सञ्चालक समिति तथा साधारणसभाले निर्णय गरिएको नदेखिएको उल्लेख छ ।
‘अनुगमनको समयमा तत्कालिन उपाध्यक्ष निकिता पौडेलले मिटि २०७८ साल असोज ८ गते राजीनामा दिएको भनि व्यवस्थापकले लिखित जानकारी गराए पनि सो राजीनामा सम्बन्धमा संचालक समिति तथा साधारणसभाले निर्णय गरेको नदेखिएको,’ महानगरको सहकारी विभागले तयार पारेको प्रतिवेदनका मुख्य अंशको सुझावमा भनिएको छ, मिति २०७९ मंसिर १२ गते सम्पन्न साधारण सभाले सदस्यने नभएको व्यक्ति संचालक समितिको अध्यक्ष नियुक्ति गरेको तथा नयाँ संचालक समितिका पदाधिकारी सम्पर्कविहीन रहेको परिपेक्षमा उक्त निर्ण विभागले पुनर्विचार गर्न उपयुक्त हुनेछ ।’
निकिताले सहकारीको उपाध्यक्षबाट २०७७ साल असोज ८ गते राजीनामा दिएर २०८० साल असार ९ गते अर्थात् ३ वर्षपछि स्वीकृत भएको भनिएको राजीनामा पत्र हराएको भनिएको थियो । विभागको यो प्रतिवेदनले पनि त्यतिबेला पनि ठगी काम भएको थियो भन्ने प्रष्ट हुन्छ ।
त्यतिबेला पनि महानगरपालिकाको सहकारी विभागले २०८० असार पहिलो साता सहकारीलाई निकिताको राजीनामा बारे प्रश्न गर्दै साई सहकारी संस्थामा पत्र पठाएको थियो । महानगरको सहकारी विभागको पत्रको जवाफमा उक्त सहकारीले निकिताले २०७७ असोज ८ गते राजीनामा दिएको र २०८० असार ९ गते राजीनामा स्वीकृत भएको भनिएको थियो ।
शक्तिको दुरुपयोग गर्दै निकिताले झुटलाई सत्य सावित गर्ने प्रयास गरे पनि तथ्यले पनि ठिक उल्टो देखाएको छ । निकिता उपाध्यक्ष रहेकै बेलामा सहकारीले बचतकर्तालाई करीब १ करोड रुपैया ठगेको भन्दै २०८० असार पहिलो साता विभागमा उजुरी परेको महानगरपालिकाले जानकारी दिएको छ । त्यो रकम अहिलेसम्म पनि सहकारीले बचतकर्तालाई फिर्ता गर्न सकेको छैन ।
त्यसो त महानगरको सहकारी विभागले गरेको अनुगमनका क्रममा संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाका तत्कालीन अध्यक्षलाई जिम्मेवारी मुक्त गर्ने तयारीका साथ २०७२ मंसिर १२ गते संस्थाको सदस्य नै नभएको व्यक्ति छन्तेललाई सञ्चालक समिति अध्यक्ष बनाएको पाइएको छ ।
साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेकी निशा खड्का उपाध्यक्ष लगायतका अन्य पदाधिकारी नियुक्ति गरी तत्कालीन सञ्चालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने काम गरेको प्रतिवेदनमा छ । यी सबै योजनामा निकिटाको संलग्नता रहेको भन्ने अनुमान गर्ने आधारहरु प्रतिवेदनको भाषाले पनि प्रष्ट हुन्छ ।
अनुगमनका क्रममा २०७५ पुस २८ गतेको साधारण सभाले तत्कालीन अध्यक्ष नोखराज पोखरेल, कोषाध्यक्ष योगिता पुन, सदस्यहरु लिस्सा पौडेल, सरोज लामिछाने, रजनीश आचार्य तथा लेखा समिति सदस्य केदार बहादुर दाहालको मात्र राजीनामा स्वीकृत गरेको उल्लेख छ । रिक्त पदमा नियुक्त गरेकोमा निर्णयपुस्तिकामा केरमेट गरी बिभिन्न पदमा संचालक नियुक्ति तथा हेरफेर गरेको देखिएको पाइएको छ ।
सहकारी संस्थाले सहकारी विभागको पूर्वस्वीकृतिविना कार्यक्षेत्र बाहिर कार्यालय राखेको पाइएको छ ।
साई स्वागत सहकारीले राधास्वामी बचत तथा ऋण सहकारी संस्थाबाट ९५ लाखको अन्तर सहकारी कर्जा लिएको पाइएको छ । तत्कालीन सचिव तथा ब्यबस्थापक शंकर उपाध्याय दाहालले समितिको किर्ते निर्णय खडा गरी कारोबार गरेको पाइएको अनुगमनमा फेला परेको छ।