यमपञ्चककाे दाेस्राे दिन आज कुकुर तिहार मनाइदै, साँझ लक्ष्मी पूजा
काठमाडौं, १५ कात्तिक । यमपञ्चककाे दाेस्राे दिन आज बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो ।
उनका अनुसार शुक्रबार साँझ औँसी पूरा भई सक्छ। शुक्रबार औँसी तिथि २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म रहेको छ।
कुकुरपूजा
सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका ‘श्याम’ र ‘सबल’ नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।
मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ। यद्यपि प्रत्येक दिन बिहान भोजन तयार भएपछि काग र कुकुरलाई खान दिएर मात्र आफूले खानुपर्ने सनातन धर्मको निर्देश छ।
लक्ष्मीपूजा (दीपावली)
औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। यसलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।
औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको छ। सफासुग्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ।
यसरी विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्यले युक्त हुने, समृद्धि प्राप्त हुने मान्यता रहिआएकाे छ ।
