हरिबोधनी एकादशी आज तुलसीकाे विवाह गरि मनाइँदै

काठमाडौं, २७ कात्तिक । कात्तिक शुक्ल एकादशी आज भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइदैछ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्नुभएको कुरा पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने मानिन्छ ।

तुलसी शुद्धता तथा पवित्रताको रुपमा परिचित छ। यसका अनेकौ औषधीय गुणहरुले पनि तुलसी हिन्दु तथा अन्य धर्मावलम्वीहरु माझ परिचित छ। हिन्दुग्रन्थहरुमा तुलसीलाइ देवी लक्ष्मीको अवतार भनेर विश्वास गरिन्छ ।

प्रत्येक वर्ष शुक्लपक्षको एघारौं दिनमा हिन्दु धर्मावलम्वीहरुले तुलसीको विवाह भव्यताकासाथ मनाउने चलन छ जसलाई हरिवोधनी एकादशी भनिन्छ

तुलसी विवाह र महत्व
कात्तिक शुल्क एकादशीलाई हरिवोधनी एकादशीको नामले पनि चिनिन्छ । उक्त दिन भगवान विष्णु योग निद्राबाट बाहिर आउँछन् । उनीसंगै सबै देवताहरुले पनि योग निद्रा त्याग गरिदिन्छन् । उक्त दिन भगवान विष्णुको पूजा गरिन्छ । त्यसपछि भगवान शालिग्राम तथा तुलसीको विवाह गरिन्छ । त्यही दिनदेखि नै विवाह, मुण्डन, व्रतबन्ध जस्ता मांगलिक कार्यहरुको समेत थालनी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *