मौसमजन्य विपदबाट नागरिक जोगाउन महानगरका संयन्त्र सक्रिय बनाउँदै कार्यवाहक प्रमुख डंगोल
महानगरपालिकाको पूर्वतयारी र प्रतिकार्यका
काठमाडौँ, असोज ७ । जलजन्य तथा मौसमजन्य विपद्बाट महानगरवासीलाई सुरक्षित राख्न काठमाडौँ महानगरपालिकाले पूर्वतयारी र प्रतिकार्यका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको महानगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जोखिमयुक्त स्थानको नियमित निगरानी, अवरुद्ध जलप्रवाह खुलाउने, उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राख्ने तथा विपद्को सूचना तत्काल नागरिकसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट असोज ८ देखि १२ गतेसम्म भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि महानगरले सम्भावित जोखिम न्यूनीकरण र प्रतिकार्यको तयारीबारे बैठकमा छलफल गरेको हो। बैठकमा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) बाट प्राप्त अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई समयमै सूचना प्रवाह गर्ने निर्णय गरिएको छ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले विपद् प्रतिकार्यका लागि महानगरका संयन्त्र कुन अवस्थामा छन्, तत्काल कुन तयारी गर्न आवश्यक छ तथा प्रतिकार्य प्रणालीको क्षमता र विभिन्न निकायबीचको समन्वयबारे स्पष्ट जानकारी लिन बैठक आयोजना गरिएको बताउनुभयो। उहाँले सम्भावित जोखिमबारे आमनागरिकलाई समयमै सचेत गराउने र विपद् भएमा तत्काल सहयोग प्राप्त गर्न सकिने संयन्त्रलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो।
कार्यवाहक प्रमुख डंगोलले पानीको प्रवाह रोकिन सक्ने जोखिमयुक्त स्थानमा पुनःसफाइ गर्न जनशक्ति, साधन र उपकरण परिचालन गर्न, प्रतिकार्यका लागि आवश्यक जनशक्ति तथा उपकरण तैनाथ राख्न र पहिचान भएका जोखिमयुक्त क्षेत्रको नियमित निगरानी गर्न निर्देशन दिनुभयो। उहाँले जात्रा सञ्चालन हुने क्षेत्रमा नियमित व्यवस्थापनसँगै विपद् व्यवस्थापनका लागि छुट्टै संयन्त्र सक्रिय राख्नसमेत सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।
उहाँले मौसमजन्य विपद्बाट बच्न महानगरको तयारीसँगै समुदायको भूमिकासमेत महत्वपूर्ण हुने बताउनुभयो । वर्षाको पानीको निर्वाध प्रवाहका लागि सार्वजनिक स्थानमा फोहोर नफाल्ने, पानीको निकास अवरुद्ध हुन नदिने तथा जोखिमको सूचना सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने विषयमा समुदाय पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा महानगर प्रमुखका सल्लाहकार जलस्रोत तथा जलविज्ञानविज्ञ प्रा. डा. नरेशमान शाक्यले वर्षाको जोखिम मूल्याङ्कन गर्दा कति मिलिमिटर पानी प¥यो भन्नेभन्दा कुन अवधिमा कति पानी परेको छ भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो । काठमाडौँमा यसअघि ठूलो वर्षाका क्रममा ११० देखि १२० मिलिमिटरसम्म वर्षा रेकर्ड भएको उल्लेख गर्दै उहाँले यस वर्ष १३३ मिलिमिटरसम्म वर्षा हुनसक्ने आकलन रहेकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
बैठकमा विषयगत समितिका संयोजक प्रेम थापा, ईश्वरमान डंगोल र नवराज पराजुलीले आ–आफ्ना वडा क्षेत्रमा डुबानको सम्भावना रहेका स्थानबारे जानकारी गराउनुभयो। स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशी, सशस्त्र प्रहरी बल १८ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किरणकुमार कठायत तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलसहितका अधिकारीले आन्तरिक समन्वय र विपद् प्रतिकार्यमा उपलब्ध स्रोतसाधनको एकीकृत परिचालनमा जोड दिनुभयो ।
महानगरपालिकाको पूर्वतयारीबारे प्रस्तुतिकरण गर्दै विपद् व्यवस्थापन विभागका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका सदस्यसचिव अनिरुद्र नेपालले महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार ‘फास्ट रेस्पोन्स’मार्फत परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
महानगरले पूर्वतयारीअन्तर्गत छ वटा र्याफ्टिङ बोट, छ वटा पानी तान्ने पम्प र पाँच वटा जेट मेसिन तयारी अवस्थामा राखेको छ। त्यस्तै, करिब दुई सय जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखिएको तथा डुबान समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति र नियमित सरसफाइका लागि दैनिक तीन सय जना सरसफाइकर्मी परिचालन भइरहेको जनाइएको छ।
बैठकको निर्णयअनुसार वडा तहमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन पत्राचार गरिएको छ। मौसमसम्बन्धी वास्तविक समयको सूचना प्राप्त गर्न सूचना प्रविधि विभागले जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी महानगरपालिकाका वेबसाइट तथा सूचना प्रणालीलाई सक्रिय बनाउने तयारी गरेको छ। विपद्को समयमा तत्काल सूचना तथा सहयोगका लागि महानगर प्रहरी बलको कन्ट्रोल रुमलाई समेत प्रभावकारी रूपमा परिचालन गरिनेछ ।
सम्भावित विपद्का कारण मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा प्रयोग गर्न सकिने अस्थायी होल्डिङ सेन्टरका रूपमा महानगरभित्रका विद्यालयको पहिचान गरिएको छ । यसक्रममा वडा नं. २० को शान्ति निकुञ्ज माध्यमिक विद्यालय, वडा नं. १६ को तरुण माध्यमिक विद्यालय र वडा नं. ७ को पशुपति मित्र माध्यमिक विद्यालयको निरीक्षण गरिएको छ ।
विपद्का कारण प्रभावित महानगरवासीलाई विपद् व्यवस्थापन कोषबाट न्यायोचित आर्थिक सहयोग उपलब्ध गराउने संयन्त्रबारे पनि बैठकमा छलफल भएको छ । त्यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक, सम्बन्धित वडाका वडाध्यक्ष वा तोकिएका वडा सदस्य, विपद् व्यवस्थापन विभागका प्रमुख र सम्बन्धित क्षेत्र हेर्ने नगर प्रहरी अधिकृत सम्मिलित चार सदस्यीय समितिले सहयोगका लागि सिफारिस गर्ने व्यवस्था मिलाइनेछ ।
महानगरपालिकाले सम्भावित जलजन्य विपद्को जोखिम घटाउन तत्कालीन प्रतिकार्यसँगै नियमित पूर्वतयारीलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। जलप्रवाह अवरुद्ध हुन सक्ने स्थानको सफाइ, जोखिमयुक्त क्षेत्रको निगरानी, उद्धार सामग्री तथा जनशक्तिको तयारी, समयमै सूचना प्रवाह र सुरक्षा निकायसहित विभिन्न सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै सम्भावित विपद्बाट नागरिकको सुरक्षा सुनिश्चित गर्ने महानगरको तयारी छ ।
