भारी वर्षाको पूर्वानुमानपछि देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ, ७ असोज । बाढी, पहिरोलगायतका विपद्बाट हुनसक्ने जनस्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। विभिन्न क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो।

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् निम्तिँदा दुर्घटना, चोटपटक र अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न तथा सम्भावित विपद्का समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ।

त्यस्तै, बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय तथा सञ्चालनलाई प्रभावकारी बनाउन र आवश्यकताअनुसार सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्न मन्त्रालयले भनेको छ।

सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन अस्पताल तथा स्वास्थ्य संस्थाले पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *