मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

कास्की, २८ कात्तिक । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ ।

मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको पाँच हजार ३०० मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फर्किएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उद्धार टोलीमा लाक्पाछिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहनुभएको थियो । अन्य टोली भने मर्दी हाइक्याम्पमा रहेका छन् । “भिरको खोंचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटरमाथि ल्याएर सुरक्षित राखेर उद्धार टोली फर्किएको छ, उहाँहरूका अनुसार सो स्थानबाट शव ल्याउन सकिने अवस्था छैन, हेलिकप्टरबाट ल्याउनुको विकल्प छैन, त्यसका लागि पहल गरिरहेका छौँ”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

मर्दी आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई तामाङ लडेर हराएको जानकारी दिएपछि उद्धारका लागि मङ्गलबार बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *