गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु
गण्डकी, ३० कात्तिक । गत पुस / माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् ।
यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो ।
प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको सङ्क्रमण देखिएको छैन ।
असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो ।