घोप्टेभीरको जोखिमले नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने
काठमाडौं, ५ मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। चितवनको घोप्टेभीर क्षेत्रमा निरन्तर सुक्खा पहिरो खस्न थालेपछि सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न प्रशासनले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछ।
घोप्टेभीर क्षेत्रमा माथिबाट ढुङ्गा र माटो खसिरहेकाले सडकमा जोखिम बढेको प्रशासनले जनाएको छ। जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी आवागमन रोकेर काम गर्न लागिएको हो।
निर्धारित समयमा सडक पूर्ण रूपमा बन्द रहने भएकाले चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आफ्नो यात्राको समय मिलाएर मात्र आवतजावत गर्न प्रशासनले अनुरोध गरेको छ।
