चार दशकदेखिको माग पूरा गर्दै श्रीगणेश र श्रीभैरवको निवास गृह निर्माण सुरु : कार्यवाहक प्रमुख सुनिता डंगोलप्रति स्थानीय समुदायबाट आभार प्रकट
श्रीगणेश र श्रीभैरवका लागि छुट्टै निवास गृह
काठमाडौँ, ५ मङ्सिर । स्थानीय समुदाय, सम्पदाकर्मी तथा सरोकारवालाले चार दशकभन्दा लामो समयदेखि उठाउँदै आएको जीवित देवता श्रीगणेश र श्रीभैरवका लागि छुट्टै निवास गृह निर्माणको माग काठमाडौँ महानगरपालिकाले पूरा गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाले शुक्रबार वसन्तपुर डबलीको दक्षिणतर्फ साविक जनआदर्श माध्यमिक विद्यालय रहेको स्थानमा निवास गृह निर्माणका लागि शिलान्यास गरेपछि कार्यक्रममा सहभागी वक्ता तथा स्थानीयवासीले कार्यवाहक प्रमुख सुनिता डंगोलप्रति आभार व्यक्त गरेका छन् ।
महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले निर्माणस्थलको ब्रह्मस्थानमा जगपूजा तथा शिलान्यास गर्नुभएको हो । उहाँसँगै वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ र वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले निर्माणस्थलका चार कोणमा जगपूजा तथा शिलान्यास गर्नुभएको थियो ।
हनुमानढोका दरबार संरक्षण कार्यक्रममार्फत निर्माण हुने भवनको लागत अनुमान छ करोड सात लाख ९५ हजार ५७ रुपियाँ रहेको छ ।
शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले लामो समयदेखिको प्रयास र मेहनतपछि ऐतिहासिक कामको सुरुआत भएको बताउनुभयो । उहाँले यो निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी नेपाल मण्डलको सभ्यता, संस्कृति र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्नुभयो ।
काठमाडौँको सांस्कृतिक सभ्यता र येँया (इन्द्रजात्रा) बीच अभिन्न सम्बन्ध रहेको बताउँदै उहाँले जीवित देवी श्रीकुमारीसँगै एउटै गणका श्रीगणेश र श्रीभैरवको छुट्टै निवास नहुँदा धार्मिक तथा सांस्कारिक दायित्व निर्वाहमा कठिनाइ हुँदै आएको बताउनुभयो । निवास गृह निर्माणले परम्परागत संस्कारलाई निरन्तरता दिन र भावी पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
उहाँले निर्माण कार्यलाई स्थानीय समुदायले आफ्नै घर निर्माण भइरहेको महसुस गरी नियमित निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । भवन मौलिक वास्तुशैलीमा निर्माण हुने भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले आफ्नो नौ वर्षे कार्यकालका महत्वपूर्ण उपलब्धिमध्ये श्रीगणेश र श्रीभैरवको निवास गृह निर्माणको थालनी पनि एक भएको बताउनुभयो । लामो समयदेखि प्रयास हुँदै आए पनि विभिन्न कारणले अघि बढ्न नसकेको कामले अहिले निर्माणको चरणमा प्रवेश पाउनु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो ।
पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले पारिवारिक संरचनामा रहेर जीवित देवताले धार्मिक तथा सांस्कृतिक जिम्मेवारी निर्वाह गर्न कठिनाइ भएपछि छुट्टै निवासको आवश्यकता महसुस भएको बताउनुभयो । लामो समयदेखि प्रयास गरिए पनि सफल हुन नसकेको काम अहिले सुरु हुनु सांस्कृतिक परम्परा जोगाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले महानगरपालिकाले इतिहास संरक्षण गर्ने मात्र नभई नयाँ इतिहास निर्माण गर्ने कामसमेत गरेको बताउनुभयो । पूर्व श्रीगणेश तथा श्रीभैरवका तर्फबाट धारणा राख्दै पूर्वश्रीगणेश गणेश शाक्यले करिब ४० वर्षदेखि उठाउँदै आएको मागले मूर्तरूप पाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।
स्थानीय शैलेशरत्न शाक्यले निवास गृह निर्माणले जीवित देवताहरूको मर्यादा र सांस्कृतिक परम्परा संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
श्रीगणेश र श्रीभैरवका लागि साढे तीन तलाको परम्परागत नेवारी वास्तुकलामा आधारित भवन निर्माण गरिनेछ । भवनको प्रत्येक तलाको क्षेत्रफल एक हजार ३३८ दशमलव ७५ वर्गफिट र कुल क्षेत्रफल चार हजार १६ दशमलव २५ वर्गफिट हुनेछ ।
हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवन निर्माणमा इँटा, काठ, चुना र सुर्कीजस्ता परम्परागत सामग्री प्रयोग गरिनेछ । भवनमा कलात्मक झिँगटीको छानो रहनेछ ।
भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष, पहिलो तलामा जीवित देवताहरूको दर्शन कक्ष तथा निवास कक्ष र दोस्रो तलामा भान्छा तथा शयन कक्ष निर्माण गरिनेछ ।
यसअघि निर्माणस्थलमा रहेको नवआदर्श विद्यालयलाई वडा नं. २३ मै रहेको बालसेवा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
निवास गृह निर्माणले जीवित देवताहरूको धार्मिक तथा सांस्कृतिक दायित्व निर्वाहलाई सहज बनाउनुका साथै येँया (इन्द्रजात्रा) लगायतका परम्परागत जात्रा तथा संस्कारको निरन्तरतामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
