ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल
भक्तपुर, २ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको देश हो । पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता एवं ऐक्यबद्घता देख्न सकिन्छ । जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने विश्वास छ ।”
राष्ट्रपति पौडेलले नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्मकुमारी नेपालले मानवमात्रको चरित्र तथा कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा उहाँले भवन उद्घाटनसँगै शिलालेखसमेत अनावरण गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मनलाई शान्ति र आनन्द बनाउन आवश्यक रहेको उल्लेख गर्दै मानिसको चञ्चल मनलाई संयमित बनाउन योग तथा ध्यान आवश्यक रहेको बताउनुभयो । विश्व प्रतिस्पर्धात्मक होडबाजीमा लागिरहेको बेलामा शान्तिको सन्देश लिएर विश्वभर यस्ता अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादीजीले विश्वव्यापिरुपमा शान्ति, विश्वबन्धुत्व र एकताको सन्देश प्रवाह गरी एक सुखी र समृद्ध समाजको निर्माणमा केन्द्रले अभूतपूर्व भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
केन्द्रका वरिष्ठ राजयोगी ब्रह्मकुमार तिलकबहादुर शाहीले १७ रोपनी जमिनमा दुई भवन, तपस्या धाम, शिव लिङ्ग, चार धाम, शान्ति स्तम्भलगायतका संरचनासहित एक सय जनालाई आवासीय सेवा दिन सक्ने गरी एकेडेमीको उद्घाटन गरिएको बताउनुभयो । उहाँले डा नयनतारा उप्रेती परिवारले विद्यालय सञ्चालन गर्न जग्गासहित निर्माण गरेको भवन बह्म्रकुमारीमा साधक भएपछि यसतर्फ आकर्षित भएर एकेडेमी सञ्चालन गर्न करोडाैं रुपैयाँको सम्पत्ति संस्थालाई दान दिएको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रलाई ज्ञान एकेडेमी र मिनि बृन्दावनका रुपमा सञ्चालन गरिने बताउनुभयो ।