रवि लामिछानेलाई आज बयानका लागि काठमाडौं ल्याइँदै

काठमाडौं, ११ मङ्सिर । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि उनलाई आज काठमाडौं ल्याउन लागिएको हाे ।

प्रहरी स्रोतका अनुसार कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

लामिछानेलाई आज बिहान जहाजबाट काठमाडौं ल्याइन लागिएको प्रहरी स्रोतले जनाएकाे छ भने दुई वा तीन दिन काठमाडौंमा नै राखेर बयान लिने बताइएको छ । ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ ।

लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने पोखराको सूर्यदर्शनलगायत सहकारीकाे रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।