रामेछाप जीप दुर्घटनाका मृतक पाँचै जनाको सनाखत
रामेछाप, १४ मङ्सिर । रामेछापमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएकोमा पाँचै जनाकाे सनाखत भएकाे छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडामा शुक्रबार दिउँसो ना १ ज ७१२३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको र चार जनाकाे सनाखत भएकाेमा शुक्रबार राती अबेरसम्ममा पाँचैजनाकाे सनाखत भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदिप सिंहले जानकारी दिनुभएकाे छ ।
उहाँकाअनुसार दुर्घटनामा मृत्युहुनेहरूमा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्का र रामेछाप गोकुलगंगा गा.पा. वडा नं. ४ बेताली जोगीडाँडा बस्ने बर्ष अं. २८ कि सविना (गजमेर) बि.क. रहेकाे प्रमुख डिएसपी सिंहले जानकारी दिनुभयाे ।
दुर्घटनामा तीन जना घाइते भएका थिए । घाइते हुनेहरूमा कास्की लेखनाथ न.पा. घर भएका बर्ष ४२ को केशव शर्मा, रामेछाप गोकुलगंगा गा.पा. वडा नं. ४ बेताली जोगीडाँडा बस्ने मृतक सविना (गजमेर) बि.क.को छोरा अं.बर्ष ४ को वालक रविन बि.क, रामेछाप गोकुलगंगा गा.पा. ४ बेताली बस्ने बर्ष २७ की सरस्वती कार्की रहेकाे र उनिहरूकाे काठमाडाैंस्थित ट्रमा सेन्टर र केएमसी अस्पतालमा उपचार भइरहेकाे प्रमुख डिएसपी सिंहले जनाउनुभएकाे छ ।