लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
दाङ, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताउनुभयो ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताउनुभयो । उहाँले सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राख्नुभयो ।
तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताउनुभयो । उहाँले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरुआत गरिने बताउनुभयो ।