बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव

बागलुङ, २५ मङ्सिर । बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् ।

वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।

पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन् ।

चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकारअन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको रु १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन् ।

अधिकारीले जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको जानकारी दिनुभयो । त्यसमध्ये २५ दशमलव ८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको उहाँले उल्लेख गर्नुभयो । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार आठ सय ४१ हेक्टर रहेको अधिकारीले जानकारी दिनुभयो ।

गलकोट नगरपालिका–११ का कर्णबहादुर काउचाले सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेका बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण गर्दै अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उहाँको भनाइ छ ।