आठ वर्षपछि बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा

काठमाडाैं, २ पुस । बुद्धजन्मस्थल लुम्बिनीमा ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न भएको छ । विश्वशान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार भिक्षु भिक्षुणी, रिन्पोछे, लामा तथा बुद्धका अनुयायीहरूले पूजा गरेका हुन् ।

प्रणिधान र बुद्धपाठले दश दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आर्कषित भएका थिए ।

विगतमा २५ वर्षसम्म निरन्तर सञ्चालन गरिएको पूजा विगतमा केही वर्ष रोकिएकोमा पुनः आठ वर्षपछि मङ्सिर २३ गतेदेखि सुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१ औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो ।

मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा आज समापन गरिएको हो । भारतका ४१ औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्यमोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको कोषका उपाध्यक्ष डा लामाले बताउनुभयो । उहाँले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितिमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरू सहभागी भएर मोन्लम पूजा हुनु गौरवको विषय भएको बताउनुभयो ।

डा लामाले लुम्बिनीबाट सुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आमनागरिकले साथ दिनुपर्ने बताउनुभयो । प्राणी जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्राणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।

शाक्यमोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटल भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *