औषधि पसलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा सञ्चालिका पक्राउ

प्रतिबन्धित लागुऔषध

काठमाडौँ, कार्तिक ७ । पोखरामा औषधि पसल (फार्मेसी) को आवरणमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार गरेको आरोपमा एक सञ्चालिका पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २६ कालिकाचोकस्थित ‘जलधारे औषधि पसल’की सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गाना रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (प्रनाउ) वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषध ओसारपसार तथा बिक्री भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले बुधबार उक्त फार्मेसीमा छापा मारेको थियो ।

जाँचका क्रममा प्रहरीले सञ्चालिका ढुङ्गानाको साथबाट चार प्रकारका सात हजारभन्दा बढी प्रतिबन्धित चक्की बरामद गरेको छ। बरामद लागुऔषधमा कोडिप-पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, क्लोर्डियाजेपोक्साइड १६० चक्की र लोराजेपाम १५० चक्की रहेका छन् ।

प्रनाउ पासवानले सर्वसाधारणको स्वास्थ्य उपचारका निम्ति सञ्चालित फार्मेसीबाटै ठूलो परिमाणमा मनोद्दिपक तथा लागुऔषधजन्य औषधि फेला पर्नु गम्भीर विषय भएको उल्लेख गर्दै औषधिको बिक्री-वितरण तथा प्रयोगको प्रभावकारी नियमन आवश्यक रहेको बताउनुभयो ।

पक्राउ परेकी ढुङ्गानाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ। पोखरा क्षेत्रका फार्मेसीहरूबाट यसअघि पनि यस्ता प्रतिबन्धित औषधिको अवैध कारोबार हुने गरेको पाइएकाले प्रहरीले निगरानी कडा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *