पोखराको औषधि पसलबाट ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद, सञ्चालिका पक्राउ

कास्की, कात्तिक ७ । पोखराको एक औषधि पसलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधजन्य औषधिका चक्की बरामद भएका छन्। पोखरा महानगरपालिका–२६, कालिकाचोकस्थित जलधारे औषधि पसलमा छापा मारेर प्रहरीले सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसलमा जाँच गरेको थियो। सो क्रममा चार प्रकारका लागुऔषधजन्य औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ। बरामद औषधिको कुल सङ्ख्या ७ हजार १६० चक्की रहेको छ।

प्रनाउ पासवानले विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला परेको बताए। औषधि बिक्री तथा वितरण गर्ने पसलबाटै यस्ता औषधि ठूलो परिमाणमा बरामद हुनुले बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको उनले बताए।

पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न समयमा औषधि पसलबाट लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *