दसैँको टीका र आशीर्वाद लिने क्रम जारी, आफन्तकहाँ चहलपहल बढ्यो

काठमाडौँ, ७ कात्तिक । बडादसैँको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेका सर्वसाधारण आफन्त र मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिरहेका छन्।

नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु हुने टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ। दसैँलाई लामो समयदेखि भेटघाट हुन नसकेका आफन्त तथा परिवारजनसँग पुनर्मिलन गर्ने अवसरका रूपमा समेत लिइन्छ।

मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिन जानेहरूको आवागमन बढेसँगै सडक तथा सहरबजारमा सर्वसाधारणको चहलपहल बढेको छ। दसैँले परिवार र आफन्तबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा अभिवृद्धि गर्ने विश्वास गरिन्छ।

यसैबीच, दसैँ मनाउन सदरमुकाम तथा सहरबाट गाउँघर गएका सर्वसाधारण पनि आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *