नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै
क्रस बोर्डर टुरिजम कनेक्ट
काठमाडौँ, कार्तिक ७ । नेपाल र भारत बीच पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यका साथ चितवनमा ‘नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र ‘समृद्ध चितवन अभियान’को संयुक्त आयोजनामा यही कात्तिक ९ देखि ११ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।
‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको प्रमुख लक्ष्य भारतीय बजारमा नेपालको पर्यटकीय सम्भावनालाई प्रभावकारी रूपमा विस्तार गर्नु रहेको छ ।
कार्यक्रमका संयोजक एवम् एनआरएनए आइसिसीका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार दुई देशका पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध (बी२बी) स्थापना गर्न र नेपालका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय सञ्जालमा जोड्न यो पहल महत्त्वपूर्ण हुनेछ। केवल प्रचार सामग्री वितरण गरेर मात्र अपेक्षित नतिजा हासिल नहुने उल्लेख गर्दै उहाँले भारतीय व्यवसायीलाई प्रत्यक्ष रूपमा स्थलगत भ्रमण गराई स्थानीय होटल, रिसोर्ट तथा सेवा-सुविधाको स्तरबारे परिचित गराउन कार्यक्रम केन्द्रित रहने बताउनुभयो ।
तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा भारतका विभिन्न सहरबाट २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रम अवधिभर भारतीय प्रतिनिधिमण्डल र नेपाली पर्यटन व्यवसायी, होटल सञ्चालक तथा स्थानीय सरोकारवालाहरूबीच परिचयात्मक भ्रमण, संयुक्त पर्यटन प्याकेज निर्माण र भविष्यमा नियमित पर्यटक आवागमन सुनिश्चित गर्ने विषयमा द्विपक्षीय छलफल हुने कार्यसूची छ ।
यसैगरी, यस पहलले लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई समेटेर एउटै पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य लिएको छ। भरतपुर महानगरपालिकासहित कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र रामग्राम नगरपालिकालाई पर्यटकीय सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने योजना आयोजकको रहेको छ ।
