सूर्यविनायकमा जग्गा अतिक्रमणको आरोप, पूर्वएसएसपी थापाविरुद्ध पीडित परिवारको सार्वजनिक अपिल
भक्तपुर, ७ कात्तिक । सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा जग्गा अतिक्रमण गरी अस्थाइ संरचना निर्माण गर्न थालिएको भन्दै पीडित परिवारले न्यायका लागि सार्वजनिक अपिल गरेको छ। सशस्त्र प्रहरी बलका पूर्वएसएसपी विश्वेश्वर थापाले कित्ता नं १३०२ जग्गाको सीमासम्बन्धी विवाद समाधान नहुँदै बिदाको मौका पारेर उक्त जग्गामा अस्थाइ संरचना निर्माण कार्य अघि बढाएको कृष्ण खत्री र विष्णु लोहलाका परिवारले आरोप लगाएका छन्।
पत्रकार सम्मेलनमार्फत पीडित परिवारले आफूहरूले पुस्तौँदेखि भोगचलन गर्दै आएकाे विष्णु लोहलाकाे नाममा रहेकाे कित्ता नं १२९६काे १४ आना २ पैसा जग्गा र मिठ्ठुदेवी खत्रीकाे नाममा रहेकाे कित्ता नं १८८३ र तल्सिन उद्धराम श्रेष्ठकाे नाममा रहेकाे कित्ता नं ९२६बाट क्रमस ११ फिट र १२ फिट क्षेत्र मिचेर थापाले संरचना निर्माण गर्न थालेकाे पीडितहरूकाे आराेप छ ।
पीडित परिवारले जग्गाको सीमासम्बन्धी विवाद समाधान नभएसम्म निर्माण कार्य रोक्न माग गर्दै सूर्यविनायक नगरपालिका र वडा नं. ९ को कार्यालयमा निवेदन दिएको जनाएको छ। नगरपालिकाले वैशाख २२ गते थापालाई निर्माण कार्य रोक्न र छलफलमा उपस्थित हुन पत्राचार गरेको पीडित पक्षको भनाइ छ। तर दसैँ बिदाको मौका पारेर निर्माण कार्य अघि बढाइएको विष्णु लोहला र कृष्ण खत्रीले आरोप लगाएका छन् ।
‘बढी जग्गा चाहिएको होइन, न्याय देउ ‘
पीडित परिवारले आफूहरूलाई बढी जग्गा नचाहिएको स्पष्ट पार्दै लालपुर्जा, नक्सा र पुस्तौँदेखिको भोगचलनका आधारमा आफ्नो जग्गाको वास्तविक क्षेत्रफल कायम गरिदिन माग गरेको छ। न्यायका लागि आवाज उठाउँदा थापाले शक्ति प्रदर्शन गर्ने, गालीगलौज तथा धाकधम्की दिने र कुटपिटको प्रयाससमेत गर्ने गरेको उनीहरूको आरोप छ। परिवारले आफ्नो सम्पत्तिको सुरक्षा र कानुनी हक उपभोग गर्न पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
पूर्वएसएसपी थापाले भने आफूले सधियारको जग्गा नमिचेको र कानुन अनुसार नै आफ्नाे भाेगाधिकारकाे जग्गामा ट्रस्ट निर्माण गरेकाे जिकिर गर्दै आएका छन्। थापाले घटनाबारे समाचार सङ्कलन गर्न पुगेका पत्रकारसँग समेत विवाद गरी विभिन्न लान्छना लगाइ धाकधम्की दिइएकाेसमेत जनाइएको छ।
यसैबीच समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि थापाले दुर्व्यवहार गरेको भन्दै भक्तपुरका आधा दर्जन पत्रकार सङ्घ–सङ्गठनले आपत्ति जनाएका छन्।
