माघे सङ्क्रान्ति नजिकिंदैगर्दा चाकु बनाउन भ्याइनभ्याइ टोखाबासी
काठमाडौं, १९ पुस । माघे संक्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको टोखा क्षेत्रका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका भित्र रहेका उद्योगी व्यवसायीहरूलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।
टोखाको चाकु काठमाडौँ उपत्यकालगाएत बाहिर जिल्लाहरूमा पनि बिक्री हुँदै आएको छ । काठमाडौँ उपत्यका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र सिन्धुपाल्चाेक, काभ्रेपलाञ्चाेक, दाेलखा, रामेछाप, नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि टोखाको चाकुकाे माग बढ्दाे छ ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्री कृष्ण श्रेष्ठका अनुसार टाेखामा उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा पनि उत्तिकै माग रहेकाे बताउनुहुन्छ । उहाँका अनुसार माघे सङ्क्रान्ति नजिकिएसंगै टोखाका व्यवसायीहरूलाई माग धान्न मुस्किल पर्छ ।
टोखामा उत्पादित चाकुहरूमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
चाकु चिसो लागेका बेला खाने चलन भएपनि नेवारी संस्कृतिमा माघ १ गते सङ्क्रान्तिका दिन चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ भएका कारण टुख्यबाट अपभ्रंस हुँदै टाेखा हुन गएकाे इतिहास पाइन्छ । टाेखाका स्थानीयले उखुखेतीलाई जाेगाउन नसकेतापनि पुर्खाकाे चिनाेकारूपमा चाकु उत्पादनलाई जाेगाइरहेकाे स्थानीय तथा पत्रकार सानुराज डंगाेलले बताउनुभयाे ।