आर्मी जय ट्रफीको फाइनलमा प्रवेश, पुलिस र आर्मी भिड्ने

काठमाडौं, २८ पुस । त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा पहिलो जित दर्ता गर्दै फाइनलमा प्रवेस गरेकाे छ ।

आर्मीले मधेश प्रदेशविरुद्ध ८ विकेट पराजित गर्दै फराकिलो जित दर्ता गर्न सफल भएको हो ।

पुलिस बागमतीलाई हराउँदै फाइनलमा पुगेको हो । अब आर्मीले दुई बराबरी र एकमा जितसहित जय ट्रफीको फाइनल खेल्नेछ ।

नारायणी क्रिकेट मैदानमा आइतबार दोस्रो दिनको खेल चलिरहँदा मधेश ६४‍.१ ओभरमा १५० रनमा समेटिएर २७ रनको मात्र अग्रता बनाउन सफल भएको थियो । उक्त लक्ष्य आर्मीले मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

आर्मीका लागि ओपनर तृतराज जोशीले सर्वाधिक १३ रन जोड्दा अर्को ओपनर इमरान शेख ८ रनमा नटआउट रहे ।

त्यसअघि मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए ।

आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।