बजेट अभावले लमजुङ दरबारको पुनर्निर्माण अलपत्र

लमजुङ, माघ २०। लमजुङ दरबारको पुनर्निर्माण बजेट अभावका कारण अझै सम्पन्न हुन सकेको छैन।

१६औँ शताब्दीमा बनेको मानिएको यो ऐतिहासिक दरबारको पुनर्निर्माण पुरातत्व विभागले तीन वर्षअघि सुरु गरेको थियो। तर, आवश्यक बजेटको अभावमा कामले गति लिन सकेको छैन।

समुद्री सतहबाट १४४५ मिटर उचाइमा रहेको यो दरबार शाहवंशीय राजाको उद्गमस्थल मानिन्छ। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दुई वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य भए पनि बजेट अभावले काम रोकिएको छ। दरबारको पर्खाल, कालिका मन्दिरको पर्खाल, छाना हाल्ने काम, काठ राख्ने, गजुर राख्ने, प्लास्टर, झ्यालढोका र रङरोगनका कामहरू अझै बाँकी छन्।

आर्थिक वर्ष २०७९/८० मा रु १ करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएको थियो। तर, गत वर्ष सरकारले जम्मा रु ५० लाख मात्र बजेट छुट्याएको थियो। पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ। दरबार तीनतले र कालिका मन्दिर प्यागोडा शैलीमा बन्नेछ। दरबार बनाउन चाहिने निर्माण सामग्री भक्तपुरबाट ल्याइएको छ।

कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले दुई वर्षभित्र सक्ने सम्झौता भए पनि तीन वर्षसम्म पनि काम नसकिएकोमा चिन्ता व्यक्त गरे। उनले दरबार परिसरमा अलपत्र रहेका निर्माण सामग्रीले दर्शनार्थी र पर्यटकलाई असहज भएको बताए।

स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेका छन्। वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर दनाईले सम्बन्धित निकायमा पहल गर्दा पनि बजेट अभावका कारण निर्माण कार्य पूरा हुन नसकेको बताए। स्थानीय सुरेश श्रेष्ठले सरकारले एकैपटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्नेमा जोड दिए।

व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ। शाहवंशीय राज्यकालको उद्गमस्थल लमजुङमा रहेको यो दरबारको ऐतिहासिक महत्व छ। कास्कीकोटका राजा कुलमण्डलका छोरा कालु शाहलाई लमजुङका स्थानीयले वि.सं. १५४० मा राजा बनाएका थिए। पछि उनको हत्या भएपछि कुलमण्डलका कान्छा छोरा यशोब्रह्म शाहलाई राजा बनाइएको थियो।