डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु, किसान उत्साहित

डोटी, माघ २२ । दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेपछि डोटीमा च्याउखेतीको नयाँ सम्भावना देखिएको छ।

दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर शाहीले पहिलो पटक यो खेती थालेका हुन्। कन्य च्याउ उत्पादनमा अनुभव बटुलिसकेका शाहीले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको खेती सुरु गरेका हुन्।

उनले यसपटक दुई सय पोका च्याउ रोपेका छन्। आवश्यक कम्पोस्ट मल हेटौँडाबाट प्रति किलो ५० रुपैयाँका दरले २० टन खरिद गरी मङ्सिर ३० गते च्याउ रोपेको उनले बताए। “च्याउ उत्पादन सुरु हुञ्जेलसम्म करिब दुई लाख रुपैयाँ लगानी भइसकेको छ,” शाहीले भने, “च्याउको बीउ धनगढीबाट ल्याएको हुँ।”

उनका अनुसार गोब्रे च्याउखेती गर्न अन्य च्याउको तुलनामा केही बढी मिहिनेत लाग्छ। कृषि जेटिएको अध्ययन गरेका शाहीले गोब्रे च्याउखेतीमा प्राविधिक ज्ञानको आवश्यकता पर्ने र कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियससम्म उपयुक्त हुने बताए। पोका खोलिसकेपछि नियमित पानी दिने र तापक्रमको ख्याल गर्नुपर्ने उनको भनाइ छ। “अहिले दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको छ, बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारीमा छु,” उनले भने। गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो रु ४०० छ।

कृषि ज्ञान केन्द्रले गोब्रे च्याउको खेतीका लागि किसान शाहीलाई लागतको ५० प्रतिशत रकम सहयोग गरेको छ। गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउको व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। “पौष्टिक तथा आर्थिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेका हौँ,” उनले भने।

गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत विभिन्न परिकार बनाउन सकिन्छ। जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि यहाँका होटल तथा रेष्टुराँमा यसको खपत बढ्ने विश्वास गरिएको छ। यस वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउखेती गर्ने किसानलाई दिइने सहयोगलाई निरन्तरता दिइने अवस्थीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *