राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवर्डबीच भेट, जलवायु परिवर्तन र गोर्खा भर्तीबारे छलफल

काठमाडाैं, २२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार (ड्यूक अफ एडिनबरा) एडवर्डसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ।

शीतल निवासमा भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनको असर र गोर्खा भर्ती लगायतका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन विश्वकै लागि चिन्ताको विषय भएको उल्लेख गर्दै यसको समाधानका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयाे । उहाँले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको र आगामी मे महिनामा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी दिनुभयाे ।

पौडेलले बेलायती राजपरिवारका सदस्यहरूको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले नेपालको विकासमा बेलायतले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयाे।

अधिराजकुमार एडवर्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी लिने बताउनुभयाे । उहाँले भविष्यमा नेपाल र बेलायतबीच युवा तथा महिला सशक्तीकरणका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राख्नुभयाे । एडवर्डले ब्रिटिस सेनामा नेपाली युवालाई भर्ती गर्ने अवसर दिएकोमा नेपाललाई धन्यवाद दिँदै गोर्खा सैनिकको सम्बन्ध दुई देशबीचको कोसेढुंगा भएको बताउनुभयाे । उहाँले पूर्वब्रिटिस गोर्खाका गुनासा सम्बोधन गर्न बनेको संयन्त्रमा सकारात्मक छलफल भइरहेको जानकारी दिनुभयाे ।

भेटमा अधिराजकुमार एडवर्डकी पत्नी सोफी र नेपालका लागि बेलायती राजदूत रब फेन पनि सहभागी थिए।