प्रहरीले ८ राउन्ड गोली चलाएर नियन्त्रणमा लियाे मोरङमा लागुऔषध कारोबारी
विराटनगर, ३ असोज । मोरङको रतुवामाईमा प्रहरीले आठ राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएकाे छ । प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् भने करिब आधा किलो ब्राउन सुगर, पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक, कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर छन् । घाइते दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार लागुऔषध नियन्त्रण ब्युरोको टोली उक्त स्थानमा खटिएको थियो । राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित दुई मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोज्दा उनीहरू भाग्न खोजेका थिए ।
त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गोली चलाएको थियो । गोली लागेर दुवै भारतीय नागरिक घाइते भएका हुन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र मोटरसाइकल बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ परेको समूह लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेकाे जनाएकाे छ ।
