राष्ट्रियसभामा पानी जहाज विधेयक पेस

काठमाडौँ, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाको आजको बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गर्नुभएका छन् ।

मन्त्री दाहालले सामुद्रिक कानुन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ अनुसार भूपरिवेष्ठित मुलुकको समेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ ले दर्जनाैं अन्तर्राष्ट्रिय महासन्धिका प्रावधान नसमेट्ने हुँदा नेपाली ध्वजाबाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको बताउनुभयाे ।

उहाँले समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका अतिरक्त विभिन्न मुलुकका पानीजहाजमा काम गर्ने नेपालीलाई नाविक किताब, परिचयपत्रलगायत कामदारको तालिम, स्वास्थ्य परीक्षण लगायतका विषय समेट्न आवश्यक देखिएको बताउनुभयाे।

नेपालभित्रका नदी तथा तालमा विभिन्न क्षमताका जलयान सञ्चालनमा आइरहेकोले ती जलयानको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जलयातायातलाई प्रवद्र्धन गर्न विधेयक पेस गरिएको उहाँको भनाइ छ।