अर्थमन्त्री पौडेलद्वारा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश : पूर्ववर्ती सरकारको बजेटको आलोचना
काठमाडौं, २४ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नुभएकाे छ। प्रतिवेदन पेश गर्दै उहाँले पूर्ववर्ती सरकारले बनाएको बजेट सिद्धान्तमा आधारित नभएको र कार्यान्वयन गर्न बोझिलो भएको टिप्पणी गर्नुभएकाे छ ।
उहाँले पूर्ववर्ती सरकारले तीन करोडभन्दा साना आयोजनामा बजेट विनियोजन नगर्ने नीति विपरीत रु. ७५ हजारसम्मका आयोजनामा बजेट विनियोजन गरेको आरोप लगाउनुभयाे। संघीय सरकारले रु. ७५ हजारको बजेट कार्यान्वयन गर्ने हो भने प्रदेश र स्थानीय तहले के गर्ने भन्दै उहाँले प्रश्न गर्नुभयाे।
अर्थमन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रु. ३० अर्ब अपुग रहेको बताउनुभयाे। आफूले पूरक बजेट ल्याउनुभन्दा कार्यान्वयनका क्रममा बिग्रिएको बजेटलाई सच्याउन प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयाे।
प्रमुख प्रतिपक्षी दलका नेताले लगाएका आरोपको खण्डन गर्दै अर्थमन्त्री पौडेलले आरोप प्रमाणित गर्न चुनौती दिनुभयाे साथै प्रमाणित नभए रोष्टममा उभिएर क्षमायाचना गर्न माग गर्नुभयाे। उहाँले वर्तमान सरकारले जोखिमपूर्ण अवस्थामा पुगेको अर्थतन्त्रलाई सुधारेको दाबी गर्नुभयाे ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा रु. ४९ अर्ब ९१ करोड विकास खर्च भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा रु. ५६ अर्बभन्दा बढी खर्च भएको उहाँले जानकारी दिनुभयाे। उपभोक्ता मूल्य वृद्धि पनि ६.४४ प्रतिशतबाट घटेर ४ प्रतिशतमा झरेको उहाँले बताउनुभयाे ।
सरकारले हालै जारी गरेको अध्यादेशले अर्थतन्त्रका समस्या समाधान गरेको र निजी क्षेत्र उत्साहित भएको उहाँको भनाइ थियो।
बजेट खर्च र राजस्व संकलन
चालु आवका लागि रु. १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा पुस मसान्तसम्म ३५.८९ प्रतिशत अर्थात् रु. ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख खर्च भएको छ। यो खर्च गत वर्षको सोही अवधिको तुलनामा १७.६६ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा रु. ६ खर्ब ७२ अर्ब ८० करोड ९४ लाख राजस्व प्राप्तिको अनुमान रहेकामा रु. ५ खर्ब ६७ अर्ब ४९ करोड ७३ लाख संकलन भएको छ।
राष्ट्रिय गौरवका आयोजना
राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आवमा १९ आयोजना कार्यान्वयनमा रहेका छन्। ती आयोजनामा रु. ६० अर्ब ३८ करोड ७१ लाख बजेट विनियोजन गरिएकामा रु. ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय प्रगति ९९.८२ प्रतिशत र भौतिक प्रगति ५७.५० प्रतिशत रहेको छ।
अर्थमन्त्री पौडेलले सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार गरिएको र कम्प्युटरमा आधारित लेखा प्रणाली लागू गरिएको बताउनुभयाे ।