‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
मोरङ, २७ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासका लागि महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
आज शिक्षादीप कलेज विराटनगरद्वारा आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा बोल्दै उहाँले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
उहाँले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानवीय संशाधन र सूचना प्रविधिको विकास पनि महत्त्वपूर्ण रहेको उहाँको धारणा थियो ।
विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजीमा टेवा पुर्याउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूद्वारा निर्मित हवाईजहाज, संवाद गर्न सक्ने रोबोटलगायत आविष्कारको अवलोकन गर्नुभएको थियो ।