सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

बागलुङ, २९ माघ । जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार ८३८ राष्ट्रिय परिचयपत्र सेवाग्राही लिन नआएपछि थन्किएका छन्। कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायका अनुसार राष्ट्रिय परिचयपत्रको फारम भरेर धेरै व्यक्ति विदेश गएकाले परिचयपत्र लिन नआएका हुन्।

नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन न्यून मात्र आउने गरेको उहाँले जानकारी दिनुभयो। दैनिक २० देखि ५० जना मात्र परिचयपत्र लिन आउने गरेकाले परिचयपत्र थुप्रिएका हुन्।

अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ। जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार ८८५ राष्ट्रिय परिचयपत्र तयार भएर आएको शाखा अधिकृत उपाध्यायले बताउनुभयो। तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन् भने १५ हजार ८३८ परिचयपत्र प्रशासनमै रहेको उहाँले जानकारी दिनुभयो।

परिचयपत्र लिन स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले वितरणको सङ्ख्या कम भएको हो। परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङले गरेको छ। परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको छ।

राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ। नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औंठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ।

चिप्सहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ। एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन। राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन प्रणालीमा लगेर व्यवस्थित गरिने छ।