बागलुङमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

बागलुङ, १३ असोज । बागलुङमा लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो घटनामा ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए ।

जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी एक जना अझै बेपत्ता छन् । शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो ।

त्यसैगरी, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् । सोही दिन निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षापछि जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *