प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसहित चार विधेयक कार्यसूचीमा
काठमाडौं, १३ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक प्रस्तुत तथा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेको संसद्को अभिलेखमा उल्लेख छ ।
त्यस्तै, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । सरकारले अध्यादेशमार्फत परिवर्तन गरिएका केही कानुनी व्यवस्था पुनः कायम गर्न यो विधेयक अघि बढाएको हो ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शे रचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयक २०८३ असोज ५ गते प्रतिनिधिसभामा दर्ता भएको संसद्को विधेयक अभिलेखमा उल्लेख छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैबीच, आज अर्थसमिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्नेछ ।
