बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो
आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका बालबालिकामा समस्या बढी
काठमाडौँ, असोज १३ । चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा यस्तो समस्या भएका बालबालिकाको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रतिहजार पाँच वर्षमुनिका बालबालिकामध्ये ४३१ जनामा शीघ्र श्वासप्रश्वास सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या ३९६ थियो ।
उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका बालबालिकामा यस्तो समस्या बढी देखिएको छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका बालबालिकामा सङ्क्रमणदर बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४५ हजार ६०८ रहेको छ ।
जनस्वास्थ्य निरीक्षक हमालले हरेक वर्ष शीघ्र श्वासप्रश्वास सङ्क्रमण भएका बालबालिकाको सङ्ख्या बढ्दै गएकाले अभिभावकलाई बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । श्वासप्रश्वासमा समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।
स्वास्थ्यकर्मीका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा प्रतिमिनेट ४० पटकभन्दा बढी, दुई महिनादेखि एक वर्षसम्मका बालबालिकामा ५० पटकभन्दा बढी र दुई महिनाभन्दा कम उमेरका बालबालिकामा ६० पटकभन्दा बढी श्वासप्रश्वास हुनु शीघ्र श्वासप्रश्वासको सङ्केत मानिन्छ ।
रुघाखोकी लाग्ने, निमोनिया हुने, कोखा हान्ने, खाना खान मन नगर्ने तथा श्वासप्रश्वासमा कठिनाइ हुनेजस्ता लक्षण देखिएमा अवस्था जटिल हुनसक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस्ता लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ ।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटाले छिटो श्वासप्रश्वास आफैँमा रोग नभए पनि विभिन्न रोगको लक्षण हुनसक्ने बताउनुभयो । उहाँका अनुसार बालबालिकामा निमोनिया, श्वासनलीमा समस्या तथा मौसमी फ्लुका कारण शीघ्र श्वासप्रश्वास हुन सक्छ ।
उहाँले यस्तो सङ्क्रमणबाट बालबालिकालाई जोगाउन चिसो, धुवाँ र धुलोबाट बचाउन तथा स्वास्थ्यमा समस्या देखिएमा समयमै उपचार गराउन सुझाव दिनुभयो ।
