प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
ठूलो तथा उपल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको
काठमाडौँ, असोज १३ । अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका ४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले कुण्डका भौतिक संरचनामा क्षति पुर्याउनुका साथै पोखरीमा लेदो र हिलो थुपारेको छ । तीनवटा पोखरीमध्ये बिरामीले उपचारका लागि स्नान गर्ने ठूलो तथा उपल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकका लागि सञ्चालन गरिएको सानो पोखरीसमेत भत्किएको छ ।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएको भवन तथा खुला स्नानस्थलमाथिबाट खसेको पहिरोले संरचनामा क्षति पुगेको छ ।
“बाढी र पहिरोले कुण्डका भौतिक संरचनामा क्षति पुर्याएकाले तत्काल स्नान गर्न सकिने अवस्था छैन । त्यसैले कुण्ड बन्द गरिएको छ”, उहाँले भन्नुभयो, “पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाएर सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयासमा छौँ ।”
कुण्ड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि तातोपानीवासीको श्रमदानमा पोखरीमा थुप्रिएको लेदो र हिलो हटाउने निर्णय गरेको समितिका सदस्य मीना जुग्जालीले जानकारी दिनुभयो । उहाँले कुण्डको संरक्षण तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।
असोज–कात्तिक सिंगा तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो । मुख्य याममै कुण्ड बन्द भएपछि तातोपानी बजारसमेत प्रभावित भएको छ । कुण्डमा आउने पर्यटक तथा उपचारका लागि आउने सर्वसाधारणको चहलपहल घटेपछि होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसायी निराश भएका छन् ।
व्यवस्थापन समितिका अनुसार कुण्डमा नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी मानिस प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५० डिग्री सेल्सियस तापक्रमको वीरेनुनको गन्ध आउने तातोपानीलाई पोखरीमा सङ्कलन गरी स्नान गर्ने व्यवस्था छ ।
समितिका सचिव कुमार केसीका अनुसार वीरेनुनको गन्ध आउने तातोपानीमा स्नान गरेमा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकबाट हुने समस्या निको हुने जनविश्वास छ । कुण्डमा असोज-कात्तिकदेखि मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाखसम्म स्नान गर्ने गरिन्छ ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसहित चार विधेयक कार्यसूचीमा
