दाना-खुर्कोट प्रसारण लाइनका टावर बाढीले बगायो
जलविद्युत् आयोजना प्रभावित
काठमाडौँ, असोज १३ । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना-खुर्कोट प्रसारण लाइनका टावर बगाएको छ । प्रसारण लाइनका टावर तथा तारमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालित तथा केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गरिरहेका जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका १ दोवाको भिरकाटेपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको अन्नपूर्ण गाउँपालिका २ का वडाध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।
प्रसारण लाइनमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेका पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी १, ७१ मेगावाटको निलगिरी–२ र छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् भने हालसम्म केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।
यसैगरी अन्नपूर्ण गाउँपालिका ४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउनको अन्तिम सातादेखि नै बन्द रहेको छ । बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाटको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिडका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका ३ दानादेखि पोखरेबगरसम्मका विभिन्न स्थानमा रहेका प्रसारण लाइनका टावरमा विपद्का कारण क्षति पुगेको छ । क्षतिको स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति नियमित गर्न वैकल्पिक व्यवस्था मिलाउने तथा क्षतिग्रस्त प्रसारण लाइन पुनर्निर्माणको कामलाई सँगसँगै अघि बढाउने विषयमा प्राधिकरणले समन्वय गरिरहेको छ । पुरानो ३३ केभी प्रसारण लाइनको संरचनामा समेत बाढीपहिरोले क्षति पुर्याएको छ ।
दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत् आपूर्ति गराउने प्रयास भइरहेको भए पनि प्रसारण लाइनका टावरमा भएको क्षतिको अवस्था पहिचान गर्न सडक तथा सञ्चार सम्पर्कमा आएको समस्याले कठिनाइ भएको प्राधिकरणले जनाएको छ ।
बाढीपहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकका विभिन्न स्थानमा समेत कटान र क्षति पुगेको छ । सडक भासिने, कटान हुने तथा पहिरो खस्ने भएपछि पैदलयात्रासमेत कठिन बनेको छ । बेनीदेखि पैदलयात्रा गरी पोखरेबगर हुँदै शिख पुग्नुभएका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)ले बेनी पोखरेबगर खण्डका विभिन्न स्थानमा सडक भासिएको, कटान भएको, पहिरो थुप्रिएको तथा विद्युत्का तार र पोलमा क्षति पुगेको बताउनुभयो ।
बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्कसमेत विच्छेद भएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएपछि स्थानीय जनजीवन थप प्रभावित भएको छ । मुस्ताङसहित म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा समेत विद्युत्, सडक तथा यातायात सेवा अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ ।
