आन्तरिक पर्यटकको रोजाइमा इलामको तेह्रकुनेपोखरी

काठमाडाैं, १ फागुन । इलामको माई नगरपालिकास्थित तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। रमणीय वातावरण, जैविक विविधता र पूर्वाधार विकासले पर्यटकलाई लोभ्याएको हो। यहाँ घुम्न, फोटो/भिडियो खिच्न र वनभोजका लागि मानिसहरु आउने गरेका छन्।

स्थानीयको सक्रियतामा डुङ्गा सञ्चालन भएपछि पर्यटकको आकर्षण थप बढेको छ। यही आकर्षणलाई बढाउन माई नगरपालिकामा आजदेखि तेह्रकुनेपोखरी पर्यटन महोत्सव सुरु भएको छ।

वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाले आयोजना गरेको महोत्सवमा स्थानीय संस्कृति, कला, साहित्य र संगीतको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।

किराती राजा यलम्बरको मूर्ति स्थापना सहयोगार्थ ‘यलम्बर साँझ’ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ, जहाँ कृष्णभक्त राई, पदम राई र विल्सनविक्रम राई (तोक्मे बुढा)ले प्रस्तुति दिनेछन्। लिम्बू, राई, तामाङ, मगर र खसआर्य जातिको परम्परागत नृत्य पनि प्रदर्शन गरिनेछ।

माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले महोत्सवले तेह्रकुनेपोखरीको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सदरमुकामबाट ३४ किलोमिटरको दूरीमा रहेको तेह्रकुनेपोखरीसम्म पुग्ने सडक विस्तार भइरहेको छ। भौतिक पूर्वाधार विकासले यसलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *