सुनसरीमा छठका पूजा सामग्रीको व्यापार बढ्यो : पूजास्थल तयार

छठ

काठमाडौँ, कार्तिक २९ । छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा बाँसको चोयाबाट बनाइएका पूजासामग्रीको व्यापार बढेको छ । तिहार सकिएलगत्तै छठका सामग्री खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेको हो । शनिबार अबेरसम्म बजारमा डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्नेको भीड लागेको थियो । छठ पूजामा बाँसको चोयाबाट बनेका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले हरेक वर्ष यस समयमा तिनको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।

रामधुनी नगरपालिका ५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीन–चार दिनमै रु तीन लाखभन्दा बढी मूल्यका बाँसका सामग्री बिक्री हुने गरेको बताउनुभयो । भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा पर्याप्त सामग्री उपलब्ध नहुने भएकाले बाहिरी जिल्लासहित भारतबाट समेत खरिद गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्रीको प्रयोग अनिवार्यजस्तै भएकाले यस समयमा माग बढ्ने गरेको बताउनुभयो । छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बन्ने गरेको उहाँको भनाइ छ । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।

स्थानीयस्तरमा पर्याप्त सामग्री उत्पादन गर्न नसकिने भएकाले भारतबाट खरिद गरेर झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको रौनियाले जानकारी दिनुभयो ।

यसैबीच, आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका हुन् ।

जिल्लाका सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला र सुनसरी खोलाका साथै झुम्का-चतरा नहर किनारमा सरसफाइ तथा सजावट गरिएको छ । पूजास्थलमा दीप, रङ्गोली र बत्तीको व्यवस्था मिलाइएको छ ।

सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *