देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

चितवन, १ फागुन । चितवनको प्रसिद्ध देवघाटधाममा माघे सङ्क्रान्तिको अवसर पारेर एक महिनासम्म सञ्चालन भएको महामहोत्सव बुधबार सम्पन्न भएको छ।

विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको समापन गर्दै गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा महामहोत्सव सफल भएको बताए। उनले देवघाटमा यस्ता पर्व आयोजना भइरहनुपर्नेमा जोड दिए।

ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको सहयोगले महोत्सव सफल भएको बताए। सङ्कलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए। तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन तीन सय ६५ कोठाको मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो।

महोत्सवमा २५ लाखभन्दा बढी भक्तजनले अवलोकन गरेको र २० करोडभन्दा बढी रकम सङ्कलन भएको आयोजकको दाबी छ। आम्दानी र खर्च यथाशीघ्र सार्वजनिक गरिने इश्वरकृष्ण महाराजले बताए। तीन सय ६५ कोठासहितको मातापिता सेवा आश्रममा वृद्धवृद्धा र असहायहरूका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गरिनेछ।

महोत्सवमा सङ्घीय सरकारका मन्त्री, गण्डकी तथा बागमती प्रदेश सरकारका मन्त्री, राजनीतिक दलका नेता, सांसद र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। देवी प्रतिभा, अनुराधा पाण्डे, ओमप्रकाश सुवेदी, यशोदा मातालगायत कथा वाचकहरूले कथा वाचन गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *