महोत्तरीमा सुर्तीखेती: आम्दानीको राम्रो स्रोत

महोत्तरी, २ फागुन । महोत्तरी गाउँपालिका-६ का किसानहरूले कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि सुर्तीखेतीलाई आफ्नो जीवनस्तर उकास्ने माध्यम बनाएका छन्।

स्थानीय किसानहरू बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घट्न थालेपछि परम्परागत धानखेती छाडेर सुर्तीखेतीमा लागेका हुन्।

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साहका अनुसार महोत्तरी गाउँपालिका-६ का धेरैजसो किसानले धानखेतीबाट उचित प्रतिफल नपाएपछि सुर्तीखेती रोजेका हुन्।

गाउँका करिब ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए। उक्त वडाको ५० बिघाभन्दा बढी जग्गामा सुर्तीखेती भइरहेको छ र ५० भन्दा बढी परिवार यसमा संलग्न छन्।

स्थानीय किसान रामएकवाल साहले एक वर्षको आम्दानीले तीन वर्षसम्मलाई पुग्ने धान किन्न सकिने भएकाले यहाँका किसान व्यावसायिक रूपमा सुर्तीखेतीमा लागेको बताए। स्थानीय बजारमा सुर्तीको गुणस्तर अनुसार प्रतिकिलो १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

यहाँको सुर्ती बिँडी र चुरोट बनाउन भारतका व्यापारीहरूले किन्ने गरेका छन्। एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम २ लाख रुपैयाँ आम्दानी गर्न सकिने अर्का किसान मोहन मण्डलले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *