तेह्रथुममा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न, ८७० जना लाभान्वित
तेह्रथुम, ४ फागुन । जिल्ला सदरमुकाम म्याङलुङमा लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजनामा सम्पन्न निःशुल्क मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित भएका छन्।
सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो।
शिविरमा मुटुसम्बन्धी परीक्षणका साथै मधुमेह र उच्च रक्तचापको परीक्षण पनि गरिएको थियो। जिल्लाका सबै पालिकाबाट बिरामीहरू आएका थिए।
गङ्गालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले थप उपचार आवश्यक पर्ने बिरामीलाई केन्द्रमा निःशुल्क उपचार गरिने बताए। बिरामीको यातायात खर्च जयन्ती मेमोरियल ट्रष्टले बेहोर्नेछ। शिविरमा मुटुरोग विशेषज्ञ डा. दीपक लिम्बूसहित १८ जना विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएका थिए।
तेह्रथुमजस्तो विकट जिल्लामा मुटु परीक्षण शिविर सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत मिलेको म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताएका छन् ।
