हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै, उत्पादन अनिश्चित
काठमाडाैं, ४ फागुन । उपकरण मर्मतका लागि भन्दै बन्द गरिएको हेटौँडा सिमेन्ट उद्योग लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन। उद्योगमा आर्थिक सङ्कट गहिरिँदै गएका कारण सिमेन्ट उत्पादन अनिश्चित बनेको छ।
उद्योग व्यवस्थापनले असोज १५ गतेदेखि उत्पादन बन्द गरेको थियो। मर्मतपछि मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन। प्रशासन प्रमुख हरेराम आचार्यका अनुसार उपकरण मर्मतका साथै आर्थिक समस्याका कारण उत्पादन सुरु हुन सकेको छैन।
उत्पादन ठप्प भए पनि कर्मचारीको तलब भत्ता र सामान्य खर्च भइरहेकाले उद्योगमा आर्थिक समस्या बढ्दै गएको छ। उद्योगलाई दैनिक १२० टन कोइला आवश्यक पर्छ, तर कोइलाको पुरानो भुक्तानी बाँकी रहेकाले तत्काल आउने सम्भावना छैन।
२०३३ सालमा स्थापना भएको यो उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। उपकरण पुरानो भएकाले अपेक्षित उत्पादन हुन नसकेको प्राविधिकहरू बताउँछन्। भदौमा उत्पादन सुरु गरे पनि आर्थिक समस्याका कारण उद्योग थलिएको छ।