झापामा क्षयरोगीको संख्या बढ्दो, ६१६ नयाँ बिरामी फेला

झापा, ४ फागुन । झापा जिल्लामा क्षयरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा २७ बालबालिकासहित ६१६ नयाँ क्षयरोगी फेला परेका छन्। फेला परेकामध्ये ३७९ पुरुष र २१९ महिला रहेका छन्।

कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासका अनुसार खकार जाँच, छातीको एक्सरे र अन्य अंगमा देखिएका क्षयरोगी गरी जम्मा ६१६ नयाँ बिरामी थपिएका हुन्। यसका साथै क्षयरोग पुनः दोहोरिएका ४४ जना पनि फेला परेका छन्।

पछिल्लो समय झापामा क्षयरोगीको संख्या बढ्दै गएको बताउँदै दासले समुदायस्तरमा खोजपड्ताल अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेका छन्।

जिल्लामा २५ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरूमा क्षयरोगको संक्रमण बढी देखिएको छ। दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको संख्या धेरै रहेको छ।

सरकारले सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य राखेको छ। जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको औषधि निःशुल्क उपलब्ध छ र औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम दिइने गरिएको छ। हाल झापाका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ।