अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह

धनुषा, १२ फागुन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएकाे छ ।

सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयाे।

“यहाँ उत्पादित सामग्री एवं खाद्यपदार्थदेखि सबै स्थानीय उत्पादनलाई मार्केटिङ गर्नका लागि एउटा स्थानका रूपमा यो भवन रहनेछ,” भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भन्नुभयाे, “यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर त्यसलाई युवाले उपयोग गरे संसारभर प्रचारप्रसार गर्न सक्छन्।”

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटनलगत्तै नगरपालिकालाई हस्तान्तरण गर्नुभएकाे थियाे । अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम सहरी विकास मन्त्रालयले गर्ने भन्दै उहाँले व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयाे।