जनकपुरलाई हराउँदै चितवन चौथो स्थानमा उक्लियो

काठमाडौँ, २७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए । त्यस्तै, कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रनको योगदान दिए । जनकपुरका राहुल यादवले तीन, ललितनारायण राजवंशीले दुई तथा विशाल सुस्लिङले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो । उसका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए ।

बलिङमा चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने सिकन्दर राजा र कामिल मिसाराले समान दुई तथा रिजन ढकाल र कमलसिंह ऐरीले एक–एक विकेट हात पारे ।

जितसँगै चितवन अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । छ खेल खेलेको चितवनले तीनमा जित, दुईमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *