सुनसरीमा हावाहुरीले लाखौंको केराखेती नष्ट, किसान निराश

इनरूवा, १६ फागुन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ का जब्बार मियाँले १४ बिघामा गरेको केराखेतीमा हावाहुरीले क्षति पुर्‍याएको छ। करिब ५० लाखको लगानीमा गरिएको केराखेतीबाट राम्रो आम्दानी हुने आशामा रहेका मियाँ हावाहुरीले क्षति गरेपछि निराश छन्।

त्यस्तै, खुर्सीद अन्सारीले पनि दुई बिघामा गरेको केराखेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा लगानी डुब्ने चिन्ता बढेको छ। दुई दिन लगातार आएको असिनापानीसहितको हावाहुरीले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरूवाले जनाएको छ।

इनरूवासहित गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज क्षेत्रका केरा बगानमा ठूलो क्षति पुगेको छ। दुई महिनामा बजारमा लैजान तयार भएका केराका बोट ढलेर नोक्सान हुँदा किसान थप मारमा परेका छन्। इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताका अनुसार इनरूवामा मात्रै करिब एक करोड बराबरको केराखेतीमा क्षति पुगेको छ।

किसानहरूले ढलेका बोट हटाएर नयाँ बिरुवा लगाउन प्रति बिघा लाखौं खर्च लाग्ने बताएका छन्। सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टरमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *