नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरु
भक्तपुर, १५ फागुन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशका विभिन्न विषयमा छलफल गरी विभिन्न एजेण्डा पारित गरिने पार्टीले जनाएको छ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँका अनुसार महाधिवेशनमा काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहनेछ।
आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी र विभिन्न सांस्कृतिक कार्यक्रमसहित दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने कार्यक्रम रहेको छ।
अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेमकिपाको स्थापना भएको थियो। पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो। सातौँ महाधिवेशनसम्म पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएकोमा यस वर्षको महाधिवेशनले बिजुक्छेँलाई नै निरन्तरता दिने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो बढेको छ।
यसअघिको सातौँ महाधिवेशनले बिजुक्छेँको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो, जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए।