पृथ्वी राजमार्गमा सडक भासियो, गलौदीमा सवारी आवागमन पूर्ण बन्द
धादिङ, २३ असोज । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
आज साँझदेखि सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन प्रभावित भएका छन्। सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सडक भासिएपछि राजमार्ग भएर सञ्चालन हुने सबै सवारीसाधनको आवागमन रोकिएको हो।
सडकको अवस्था र आवागमन खुलाउने समयबारे थप सूचना जारी नभएसम्म यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
