सम्यक् महादानमा १२६ द्यःथुवासँग सम्पर्क : कार्यवाहक प्रमुख सुनिता डंगोलबाट सरोकारवालासँग परिचयात्मक बैठक

बहाल, बहिल तथा द्यःथुवा (देवता संरक्षक) हरूसँग छलफल

काठमाडौँ, असोज २३ : काठमाडौँ महानगरपालिकाले आगामी सम्यक् महादानको तयारीलाई तीव्र बनाउँदै महादानसँग सम्बन्धित बहाल, बहिल तथा द्यःथुवा (देवता संरक्षक) हरूसँग छलफल गरेको छ। महादानको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले महानगरपालिकाले सरोकारवालासँग परिचयात्मक बैठक गरेको हो।

सम्यक् महादान मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मूल समारोह समितिका प्रमुख संयोजक एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्यक् महादानसँग सम्बन्धित सबै द्यःथुवा मूल समारोह समितिका सदस्य रहेको बताउनुभयो।

उहाँले सम्यक् महादान लोप हुने अवस्थामा पुगेपछि महानगरपालिकाले यसको आयोजना गर्ने प्रस्ताव नगरसभाबाट पारित गराई सरोकारवाला सबैको सहभागितामा मूल समारोह समिति गठन गरेर तयारी अघि बढाएको जानकारी दिनुभयो। मूर्त सम्पदाको संरक्षणका लागि मर्मत, सम्भार र जीर्णोद्धार आवश्यक भएजस्तै अमूर्त सम्पदाको संरक्षणका लागि पुस्तान्तरणको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।

“सबैको सहभागितामा यो सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई सहज र सरल ढङ्गबाट पुस्तान्तरण गर्न सकिन्छ,” कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले तत्काल नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको वर्तमान समाजमा लामो समयको अभ्यास र तयारीबाट सम्पन्न हुने संस्कारलाई निरन्तरता दिन चुनौती रहेको बताउनुभयो। महानगरपालिकाले यस्ता चुनौतीका बीच सम्पदा संरक्षण र पुस्तान्तरणको काम गरिरहेको उल्लेख गर्दै उहाँले सम्यक् महादान पनि त्यसैको एउटा महत्त्वपूर्ण कार्यक्रम भएको बताउनुभयो। विगतमा राष्ट्रप्रमुखसमेत सहभागी हुने परम्परा रहेको यस संस्कारको संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो।

मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले नेपाल मण्डलका संस्कार र परम्परा पुर्खाले स्थापना गरेको दानशीलताको भावनाबाट निर्देशित रहेको बताउनुभयो। सीमित स्रोतसाधनका बाबजुद पनि महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने पुर्खाको मान्यतालाई व्यवहारमा उतार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

सम्पत्ति लालपुर्जामार्फत सन्तानमा हस्तान्तरण गरेजस्तै संस्कृतिलाई पनि पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले सम्यक् महादानले वंशपरम्परामा आधारित सांस्कृतिक अभ्यासको संरक्षणमा योगदान पुर्‍याउने बताउनुभयो। महादानमा देवताहरूलाई निमन्त्रणा गर्ने प्रशासनिक, धार्मिक र सामाजिक परम्परालाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।

बैठकमा श्रीघ विहारका प्रमुख ‘थायपाजु’, लेखक तथा पर्यटनविद् कर्ण शाक्यले जीवनको उत्तरार्धमा पुण्यकार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो। घरमा राखिएका सुनको जलप भएका ठूला मूर्तिहरू महादान स्थलमा ल्याउने र कार्यक्रमपछि पुनः सुरक्षित रूपमा लैजाने काम चुनौतीपूर्ण हुने उल्लेख गर्दै उहाँले यसका लागि महानगरपालिकाले व्यवस्था गर्नु महत्त्वपूर्ण भएको बताउनुभयो।

“बुद्ध जन्मेको देशमा सम्यक् महादान गर्ने दायित्व सरकारकै हो। यसको नेतृत्व महानगरपालिकाले लिएको छ। यसबाट कार्यवाहक प्रमुख सुनिता डंगोल र जनप्रतिनिधिले इतिहास बनाउनुभएको छ,” शाक्यले भन्नुभयो।

देवता निमन्त्रण उपसमितिका संयोजक संघरत्न शाक्यका अनुसार हालसम्म १२६ वटा द्यःथुवासँग सम्पर्क भइसकेको छ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सम्यक् महादान आयोजना हुने स्थल भुइँख्य रहेको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, द्यःपाला सम्बद्ध द्यःथुवा तथा विभिन्न बहाल र बहिलका पदाधिकारीहरूको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *