सशस्त्र प्रहरीका एआईजी दाहाल सेवाबाट बर्खास्त
सशस्त्र प्रहरीका एआइजी दाहाल सेवाबाट हटाइए
काठमाडौँ, २३ असोज। सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार र आफू कार्यरत सङ्गठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा उनलाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो। उनले आचरणसम्बन्धी प्रावधान बारम्बार उल्लङ्घन गरेको मन्त्रालयले उल्लेख गरेको छ।
यसअघि सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो।
पदीय आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो।
