स्ववियु चुनावका लागि आज संघसंस्था र समूह दर्ता
काठमाडाैं, १९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयले आज संघ, संगठन र समूह दर्ता गरी निर्वाचन प्रक्रिया सुरु गर्न लागेको हो।
त्रिविका अनुसार आज दिउँसो ३ बजेसम्म संघसंस्था र समूह दर्ता प्रक्रिया सुरु गर्ने गरी सबै क्याम्पसमा तालिका पठाइसकेको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार सबै क्याम्पस निर्वाचन समितिले प्रक्रिया सुरु गर्नेछन्। यसअघि नै सार्वजनिक गरिएको कार्यतालिका अनुसार फागुन २१ गते बिहान १० बजे मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध, सोही दिन बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।
त्यसपछि २६ गते मनोनयनपत्र वितरण गर्ने, २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ।
फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म तोकिएको छ। त्यसपछि मौन अवधि सुरु हुनेछ र चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ।